काठमाडौं । गृह मन्त्रालयले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका हकदारलाई शीघ्र राहत उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ।

सोमबार गरिएको परिपत्रमा ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ बमोजिम विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सम्बन्धित कार्यालयबाट सिफारिस भएका व्यक्तिका हकदारलाई स्थानीय तहमार्फत मृतकसरहको राहत उपलब्ध गराउने निर्णय शीघ्र कार्यान्वयन गर्न भनिएको छ।

ADVERTISEMENT

नेपाल सरकारले २०८३ असोज २३ गते जारी गरेको ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ अनुसार बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्न सक्ने व्यवस्था छ। उक्त व्यवस्थाबमोजिम हालसम्म ४९ वटा जिल्ला प्रशासन कार्यालयले सिफारिस पठाइसकेका छन्।

ADVERTISEMENT

यसअघि मन्त्रिपरिषद्का २०८१ असार ३१ र २०८१ फागुन १२ गतेका बैठकले २०८० वैशाख १ गतेयता मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार बेपत्ता भएको व्यक्ति कम्तीमा १० दिनसम्म पनि फेला नपरेको अवस्था यकिन गरी मृतकसरह राहत उपलब्ध गराउने व्यवस्था गरिएको थियो।