काठमाडौं । बैंकिङ क्षेत्रमा पछिल्लो समय निक्षेप रकम उच्च रूपमा बढे पनि सोअनुसार कर्जा प्रवाह हुन नसक्दा बैंक तथा वित्त कम्पनीहरूमा ठूलो परिमाणमा लगानीयोग्य रकम थुप्रिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंक, १७ विकास बैंक र १६ वित्त कम्पनी गरी ५३ वटा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ। तर सोही अवधिमा कुल कर्जा प्रवाह भने ६१ खर्ब १८ अर्ब रुपैयाँमा सीमित रहेको छ।
राष्ट्र बैंकको यो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप र कर्जा प्रवाहबीचको अन्तर नै २४ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। यो तथ्यांकले बैंकिङ क्षेत्रमा निक्षेप संकलनको तुलनामा कर्जा विस्तार अपेक्षित गतिमा हुन नसक्दा अधिक तरलता बढेको देखाएको छ।
राष्ट्र बैंकको कात्तिक २९ गतेसम्मको बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी प्रतिवेदनअनुसार यस अवधिमा बैंकिङ क्षेत्रमा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७१ दशमलव १६ प्रतिशत रहेको छ।
जबकि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि सीडी रेसियोको अधिकतम सीमा ९० प्रतिशत तोकेको छ। अर्थात् बैंक तथा वित्तीय संस्थाले नियामकीय सीमाभित्र रहेर थप कर्जा विस्तार गर्न सक्ने पर्याप्त ठाउँ बाँकी रहेको छ। यसको अर्थ बैंक तथा वित्तीय संस्थाले नियामकीय व्यवस्थाअनुसार गणना हुने निक्षेपको अधिकतम ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्छन्।
सोअनुसार कुल निक्षेप ८५ खर्ब ३० अर्ब रुपैयाँलाई आधार मानेर सामान्य हिसाब गर्दा बैंकिङ क्षेत्रले ९० प्रतिशतका दरले अधिकतम ७६ खर्ब ७७ अर्ब रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्ने देखिन्छ। अहिले कुल कर्जा प्रवाह ६१ खर्ब १८ अर्ब रुपैयाँ रहेकाले यसमा १५ खर्ब ५९ अर्ब रुपैयाँ थप कर्जा विस्तार गर्न सक्ने देखिएको छ।
राष्ट्र बैंकका अनुसार २० वटा वाणिज्य बैंकमा मात्रै कुल ७७ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। तर यी बैंकहरूको कर्जा प्रवाह ५४ खर्ब ३८ अर्ब रुपैयाँमा सीमित छ।
यसरी वाणिज्य बैंकहरूमा निक्षेप र कर्जाबीच २२ खर्ब ७४ अर्ब रुपैयाँको अन्तर देखिएको छ। कुल निक्षेपको तुलनामा कर्जा प्रवाहको अनुपात करिब ७० दशमलव ५१ प्रतिशत हुन्छ।
यसैगरी १७ वटा विकास बैंक र १६ वटा वित्त कम्पनीमा गरी कुल आठ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप रहेको छ। यी संस्थाहरूको कुल कर्जा प्रवाह भने छ खर्ब ८० अर्ब रुपैयाँ मात्रै छ।
विकास बैंक तथा वित्त कम्पनीमा निक्षेप र कर्जाबीच एक खर्ब ३८ अर्ब रुपैयाँको अन्तर रहेको छ। यो तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरू सबै थप कर्जा दिन सक्ने अवस्थामा रहेका छन्।
अहिले बैंकिङ क्षेत्रमा तरलताको अवस्था सहज रहेको अर्को संकेत अन्तरबैंक कारोबारको ब्याजदरले पनि दिएको छ। राष्ट्र बैंकका अनुसार यस अवधिमा अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर दुई दशमलव ७५ प्रतिशत रहेको छ। अन्तरबैंक ब्याजदर न्यून रहनुले बैंक तथा वित्तीय संस्थाबीच अल्पकालीन तरलताको चाप तुलनात्मक रूपमा कम रहेको संकेत गर्छ।
निक्षेप संकलन पर्याप्त हुनु, सीडी रेसियो नियामकीय सीमाभन्दा निकै तल रहनु र अन्तरबैंक ब्याजदर न्यून हुनुले बैंकिङ प्रणालीमा कर्जा विस्तारका लागि स्रोतको अभावभन्दा पनि कर्जाको माग, लगानीको वातावरण र जोखिम मूल्यांकन महत्वपूर्ण विषय बनेको राष्ट्र बैंकको भनाइ छ।












