ललितपुर । युथ एण्ड डेभलपमेन्ट (प्रोजेक्ट वाइएनडी) र भिट्रुभियन लिग नेपालको संयुक्त आयोजनामा सम्पन्न ‘भिट्रुभियन कप २०२६’ ६-ए-साइड फुटसल प्रतियोगिताको उपाधि बसन्ती युवा क्लबले जितेको छ ।
मंसिर ४ र ५ गते (नोभेम्बर २० र २१) ललितपुरको सुनाकोठी स्पोर्टिङ क्लबमा सम्पन्न प्रतियोगितामा ३२ वटा क्लब तथा समूह सहभागी भएका थिए ।
प्रतियोगिताको विजेता बनेको बसन्ती युवा क्लबले नगद एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । त्यस्तै, उपविजेता कोयो क्लबले नगद ५० हजार रुपैयाँ हात पारेको छ ।
कुल एक लाख ५० हजार रुपैयाँ पुरस्कार राशि रहेको प्रतियोगितामा सहभागी प्रत्येक टोलीका लागि आठ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको थियो । प्रतियोगिता दुवै दिन बिहान ८ बजेदेखि सञ्चालन भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको सम्पूर्ण योजना, तयारी तथा व्यवस्थापनको जिम्मेवारी संस्थाका अध्यक्ष कुशल कार्कीले गरेका थिए भने प्रतियोगितालाई व्यवस्थित र सफल रूपमा सम्पन्न गराउन उनले नेतृत्वदायी भूमिकाले सहज र सफल भएको आयोजकले जनाएको छ।
आयोजक युथ एण्ड डेभलपमेन्टका अनुसार प्रतियोगिताबाट संकलित रकम बालबालिकाको सहयोग तथा च्यारिटी कार्यमा खर्च गरिनेछ ।
खेलकुदको माध्यमबाट युवाहरूलाई एकताबद्ध गर्दै सामाजिक कार्यमा सहभागी गराउने र बालबालिकाको हितमा आर्थिक स्रोत परिचालन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।













