काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहको औपचारिक भारत भ्रमण सफल, उपलब्धिपूर्ण र सुखद रहोस् भन्दै शुभकामना दिएको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको भ्रमण सफलताको कामना गरेका हुन् ।

ADVERTISEMENT

नेपाल र भारतबीच राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध विशेष रहिआएको उल्लेख गर्दै रास्वपाले यस भ्रमणले दुई देशबीचको ऐतिहासिक, मैत्रीपूर्ण र बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ । साथै, आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धिमा भ्रमणले महत्त्वपूर्ण योगदान पुर्‍याउने पार्टीको अपेक्षा छ ।

ADVERTISEMENT

प्रधानमन्त्री शाहको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख तथा राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न संस्थाका प्रतिनिधि सहभागी छन् ।

दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तामा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाका अनुसार भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले पार्टी सभापतिसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराएका थिए । सो अवसरमा सभापतिले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्ध मजबुत बनाउन यो भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका थिए ।