काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोटेकोसी र त्रिशूली बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा पीडितसँग छलफल गर्न निस्कँदैछन् ।
थापाले टोखा–छहरे हुँदै वेत्रावती पुगेर रसुवा र नुवाकोट दुवैतर्फका बाढी प्रभावितसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ । त्यसपछि रसुवाको बोगटीटारस्थित होल्डिङ सेन्टरमा पुगेर प्रभावितहरूसँग छलफल गर्ने उनको सचिवालयले जनाएको छ ।
त्यसपछि उनी नुवाकोट फर्केर ढुङ्गे र त्रिशूली बजारका बाढी प्रभावितसँग छलफल गर्नेछन् । विदुरमा बाढी प्रभावित सरोकार समितिका प्रतिनिधिसँग पनि भेटघाट तथा अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ ।
थापाले नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारमा रसुवा र नुवाकोटका बाढी प्रभावितलाई राखिएका पाँचवटा होल्डिङ सेन्टरको समेत अवलोकन गर्नेछन् । त्यहाँ प्रभावितहरूको अवस्था, समस्या र आवश्यकताबारे जानकारी लिने कार्यक्रम छ ।
त्यसपछि देवीघाट हुँदै धादिङको गल्छी र गजुरी पुगेर बाढी प्रभावितसँग छलफल गर्नेछन् । गल्छीबाट उनी काठमाडौं फर्कने सचिवालयले जनाएको छ ।
भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न, पीडितका समस्या सुन्न र उनीहरूको आवश्यकता पहिचान गर्न थापा स्थलगत भ्रमणमा जान लागेका हुन् ।












