काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा छ । प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनीले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा चार खेल जितेको छ भने एक खेलमा पराजित भएको छ । वर्षाका कारण एक खेल रद्द हुँदा उसले अर्को एक अंक पाएको थियो ।
लुम्बिनीले कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सलाई हराएको थियो । काठमाडौं गोर्खाजसँग पराजित भएको लुम्बिनीले चितवन राइनोजसँगको खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो ।
अंक तालिकाको पाँचौँ स्थानमा रहेको विराटनगरका लागि भने आजको खेल प्लेअफ दौडमा महत्त्वपूर्ण छ । टोली जित निकाल्दै अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाउने योजनामा मैदान उत्रनेछ ।
विराटनगरले अहिलेसम्म खेलेका ६ मध्ये तीन खेल जितेको छ भने तीन खेलमा पराजित भएको छ । उसले पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सलाई हराएको थियो । काठमाडौं गोर्खाज, चितवन राइनोज र कर्णाली याक्ससँग भने पराजित भएको थियो ।












