काठमाडौं । चरिथ असलंकाको अर्धशतकको मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो ।

ADVERTISEMENT

विराटनगरका लागि असलंकाले ४३ बलमा ६ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ६४ रन बनाए । शुभम रन्जानेले २४ बलमा ४ चौकासहित अविजित ३१ रन जोडे ।

ADVERTISEMENT

ओपनर इमरान शेख २४ रन बनाएर रिटायर्ड हर्ट भए भने लोकेश बमले १७ बलमा १५ रन बनाए । शेहान जयसूर्या १ र इसुरु उडाना ६ रनमा आउट भए । बसिर अहमद ६ रनमा अविजित रहे ।

विराटनगर ७० रनमा एक विकेटको अवस्थामा हुँदा इमरान शेख रिटायर्ड हर्ट भएका थिए । त्यसपछि क्रिजमा आएका रन्जाने र असलंकाले ७५ रनको साझेदारी गर्दै टोलीको स्कोर उकासे ।

लुम्बिनीका लागि किशोर महतो, अभिषेक गौतम र रुबेन ट्रम्पलम्यानले एक–एक विकेट लिए । किशोरले चार ओभरमा २४ र अभिषेकले तीन ओभरमा १५ रन खर्चिए । ट्रम्पलम्यान भने महँगा साबित भए । उनले चार ओभरमा ५२ रन दिए ।

प्लेअफ सम्भावना कायम राख्न विराटनगरलाई यो खेल जित्नैपर्ने दबाब छ । लुम्बिनीसँग पराजित भए विराटनगर प्लेअफ दौडबाट बाहिरिनेछ ।