काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलमा शीर्ष स्थानको दौड र अंक सुधारका लागि टोलीहरू प्रतिस्पर्धा गर्दैछन्।
आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्नेछन्।
५ खेल खेलेको काठमाडौं ४ जित र १ हारसहित अंक तालिकाको दोस्रो स्थानमा छ। यस्तै, ६ खेल खेलेको सुदूरपश्चिमले ४ जित र २ हार बेहोर्दै तेस्रो स्थानमा रहेको छ। दुवै टोली समान जितसहित मैदान उत्रने भएकाले पहिलो खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
यस्तै, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।
अंक तालिकाको पाँचौँ स्थानमा रहेको चितवनले ५ खेलमध्ये २ मा जित र २ मा हार बेहोरेको छ। वर्षाका कारण एक खेल रद्द भएपछि उसले अंक बाँडेको थियो।
त्यस्तै, जनकपुर ६ खेलमा २ जित र ४ हारसहित छैटौँ स्थानमा छ। प्लेअफको सम्भावना बलियो बनाउन दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ।












