काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १३५ परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् । भूमि समस्या समाधान समिति (ताहाचल) ले साउनदेखि असोज मसान्तसम्मको अवधिमा उक्त संख्यामा लालपुर्जा वितरण गरेको हो ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पहिलो त्रैमासिक प्रगति विवरणअनुसार वितरण गरिएका १३५ लालपुर्जामध्ये ११ वटा भूमिहीन दलित, ४१ वटा भूमिहीन सुकुम्बासी र ८३ वटा अव्यवस्थित बसोबासीलाई दिइएको छ ।

ADVERTISEMENT

समितिले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि लगत सङ्कलन, विवरण प्रमाणीकरण र जग्गाको नापीलाई अघि बढाएको जनाएको छ ।

ADVERTISEMENT

प्रतिवेदनअनुसार यस अवधिमा समितिको सूचना प्रणालीमा कुल ५१ हजार ५१७ वटा निवेदन प्रविष्ट भएका छन् । त्यसमध्ये भूमिहीन दलितका ७ हजार ७०, भूमिहीन सुकुम्बासीका ८ हजार ८३ र अव्यवस्थित बसोबासीका ३१ हजार ३१७ निवेदन छन् । विगतका आयोगका अधुरा काम पूरा गर्न थप ५ हजार १२७ निवेदन दर्ता भएका छन् ।

यस्तै, समितिले पहिलो त्रैमासिकमा देशभरका विभिन्न स्थानमा १ हजार ९४७ कित्ता जग्गाको नापी तथा नक्साङ्कन कार्य सम्पन्न गरेको छ ।

काठमाडौँ उपत्यकामा भूमिहीनको समस्या समाधानका लागि समितिले भक्तपुर नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षरसमेत गरेको छ । समझदारीअनुसार भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गा वितरण र अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढाइनेछ । यसका लागि वास्तविक लगत सङ्कलन गर्न औपचारिक सूचना पनि प्रकाशित भइसकेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।