काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको तुलनामा ४५.४ प्रतिशत बढी हो।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार सहायक कम्पनीसहितको नबिल समूहको नाफा ६०.६ प्रतिशतले बढेर २ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको ब्याज खर्च १७.४ प्रतिशतले घटेपछि खुद ब्याज आम्दानी २१.४ प्रतिशतले बढेर ४ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी पनि १६.४ प्रतिशतले वृद्धि भई ६ अर्ब १३ करोड ६५ लाख रुपैयाँ कायम भएको छ।
नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थामा भएको कमीले पनि योगदान गरेको छ। गत वर्ष ६४ करोड ७२ लाख रुपैयाँ छुट्याएको बैंकले यस वर्ष १६ करोड ४० लाख रुपैयाँ मात्रै नोक्सानी व्यवस्थामा राखेको छ। बैंकको खराब कर्जा अनुपात ४.३१ प्रतिशतबाट घटेर ४.०६ प्रतिशतमा झरेको छ।
असोज मसान्तसम्म बैंकको निक्षेप ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ र कर्जा लगानी ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ पुगेको छ। वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ ४९ पैसाबाट बढेर ३३ रुपैयाँ ८९ पैसा कायम भएको छ।
यद्यपि, बैंकको पुँजीकोष अनुपात १२.६७ प्रतिशतबाट घटेर ११.६७ प्रतिशतमा सीमित भएको छ। मुख्य पुँजी (सीईटी–१) अनुपात पनि ९.५५ प्रतिशतबाट घटेर ८.३२ प्रतिशतमा आएको छ।
राष्ट्र बैंकको नियामकीय व्यवस्था र अघिल्लो वर्षको सञ्चित नाफासमेत समायोजन गर्दा बैंकको कुल वितरणयोग्य मुनाफा २ अर्ब २६ करोड ४६ लाख रुपैयाँ पुगेको छ। प्रतिसेयर वितरणयोग्य नाफा २२ रुपैयाँ ८ पैसा रहेको छ।
बैंकले आर्थिक सुस्ती, कमजोर कर्जा माग, खराब कर्जाको व्यवस्थापन, अधिक तरलता, न्यून सरकारी पुँजीगत खर्च तथा साइबर सुरक्षासम्बन्धी जोखिमलाई प्रमुख चुनौतीका रूपमा उल्लेख गरेको छ।









