काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि शिलापत्र मिडिया नेटवर्कका प्रकाशक सुरेश सिम्खडा परिवारका सदस्यसहित सम्पर्कविहीन भएका छन्।

१० भदौमा भोटेकोसी (ल्हेन्दे) नदीमा आएको बाढीपछि सिम्खडासहित उनकी आमा गोमा सिम्खडा र दिदी शारदा सिम्खडासँग सम्पर्क टुटेको हो।

सिम्खडा ९ भदौमा काठमाडौंँबाट कैलाश मानसरोवर यात्राका लागि निस्किएका थिए। यात्राकै क्रममा उनीहरू रसुवाको टिमुरेस्थित होटल कैलाशमा बसेका थिए। उनीहरूसँगै ४० विदेशी पर्यटक र ७ नेपाली कर्मचारीसहित ४७ जनाको टोली पनि यात्रारत रहेको जनाइएको छ।

ADVERTISEMENT

बाढी आएको दिन १० भदौ बिहान करिब साढे ७ बजेसम्म सिम्खडाको काठमाडौंस्थित परिवार तथा शिलापत्रसँग सम्पर्क भएको थियो। त्यसपछि भने उनीसहित तीनै जनासँग कुनै सम्पर्क हुन सकेको छैन।

ADVERTISEMENT

सिम्खडा परिवार ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे सञ्चालक रहेको हिमालयन ग्लेसियर एड्भेन्चर एन्ड कम्पनीमार्फत कैलाश मानसरोवर यात्रामा गएको बताइएको छ।

ADVERTISEMENT

टोली १० भदौदेखि रसुवागढी क्षेत्रबाट सम्पर्कविहीन भएपछि ट्राभल कम्पनीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत उद्धारमा संलग्न निकायलाई खोजी तथा उद्धारमा सहयोग गरिदिन आग्रह गरेको छ।

सिम्खडा परिवार बा.प्र. ०१–००१–य १९१८ नम्बरको सवारीसाधनमा यात्रारत रहेको जनाइएको छ। उनीहरूको खोजीका लागि धादिङको गंगाजमुना गाउँपालिका–३ ले समेत सूचना जारी गरेको छ।

परिवार तथा शिलापत्र मिडिया नेटवर्कले सिम्खडासहित परिवारका सदस्यको तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित सुरक्षा निकाय तथा उद्धारमा संलग्न सबै पक्षसँग विशेष आग्रह गरेको छ।