संखुवासभा । तीन महिनादेखि अवरुद्ध नेपाल–चीन जोड्ने रणनीतिक महत्त्वको खाँदबारी–किमाथाङ्का सडकखण्ड पुनः सञ्चालनमा आएको छ। नेपाली सेनाले विशाल चट्टान फुटाएर पहिरो हटाउन सहयोग गरेपछि सोमबार साँझदेखि सडकमा आवागमन सुरु भएको हो।

गत साउनमा संखुवासभाको भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठूला चट्टानसहित पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको थियो। सडक अवरुद्ध हुँदा भोटखोला क्षेत्रका बासिन्दाको दैनिक आवागमन प्रभावित हुनुका साथै खाद्यान्न ढुवानीमा समेत समस्या हुँदै आएको थियो।

ADVERTISEMENT

छुम्सुरको पहिरो हटाउन उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो। त्यसपछि सेनाको नं. १ विकास निर्माण गणअन्तर्गत छुम्सुर पोस्ट र श्री इन्द्रदल गुल्मको सैनिक टोली परिचालन भएको आयोजनाले जनाएको छ।

ADVERTISEMENT

ठूला चट्टान सामान्य उपकरणबाट हटाउन नसकिएपछि सैनिक टोलीले विस्फोटक पदार्थ प्रयोग गरी चट्टान फुटाएको थियो। त्यसपछि आयोजनाको टोलीले गेग्रान र लेदो हटाएर सडक सञ्चालनमा ल्याएको हो।

आयोजना प्रमुख रामबहादुर गुरुङले भौगोलिक अवस्थाका कारण पहिरो पन्छाउने काम निकै चुनौतीपूर्ण रहेको बताए। कठिन परिस्थितिमा नेपाली सेनाले महत्त्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ छ।

ADVERTISEMENT

किमाथाङ्का चीनसँग जोडिने नेपालको उत्तरी नाका हो। रसुवागढी, तातोपानी र कोरला नाकासमेत प्राकृतिक विपद् तथा सडक अवरोधबाट प्रभावित भइरहेका बेला किमाथाङ्का सडक खुलेपछि उत्तरी सीमासँगको आवागमन र पारवहन सहज हुने अपेक्षा गरिएको छ।

नेपाल, भारत र चीनलाई जोड्ने जोगबनी–किमाथाङ्का सडकखण्डअन्तर्गत कडा चट्टानयुक्त १०.८ किलोमिटर ट्र्याक निर्माणमा पनि नेपाली सेनाले भूमिका खेलेको थियो। हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर तयार पारिएको उक्त सडक गत वैशाखमा हस्तान्तरण गरिएको थियो।

सडक सञ्चालनमा आएसँगै संखुवासभासहित धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरका बासिन्दालाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ।