काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट अश्लील क्रियाकलापमा संलग्न रहेको आरोपमा पाँच विदेशी महिलालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमोलाइ गर्दै दुःख दिएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा चार जना युगान्डाका नागरिक र एक जना इन्डोनेसियाली नागरिक रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका महिलालाई सम्झाइबुझाइ गर्ने क्रममा उनीहरूले प्रहरीमाथि नै अभद्र व्यवहार गरेका थिए। घटनापछि उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।





