काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नामबाट झुटो उजुरी दिएर असम्बन्धित व्यक्तिलाई दुःख तथा हैरानी दिएको आरोप पुष्टि भएपछि रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का दीपक पुन मगरलाई २ हजार रुपैयाँ जरिवाना गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सहकारीको ऋणसम्बन्धी विषयमा अर्काको नामबाट आयोगमा झुटो उजुरी दिएको तथ्य पुष्टि भएपछि पुन मगरलाई भ्रष्टाचार निवारण ऐन, २०४८ को दफा ४९ बमोजिम जरिवाना गरिएको हो।
आयोगले बिहीबार उनलाई २ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ। झुटो उजुरीका कारण असम्बन्धित व्यक्तिलाई अनावश्यक दुःख र हैरानी दिने कार्यलाई निरुत्साहित गर्ने उद्देश्ले कानुनअनुसार कारबाही गरिएको आयोगको विवरणबाट देखिन्छ।
सार्वजनिक निकायमा उजुरी दिँदा सही विवरण र वास्तविक तथ्य प्रस्तुत गर्नु आवश्यक हुन्छ। अर्काको नाम प्रयोग गरेर झुटो उजुरी दिँदा सम्बन्धित व्यक्तिको प्रतिष्ठा तथा समय प्रभावित हुन सक्छ भने उजुरीको छानबिनमा सार्वजनिक स्रोतसमेत खर्च हुन सक्छ।











