काठमाडौं । श्रमिकलाई चाडपर्व खर्च उपलब्ध नगराउने रोजगारदातामाथि कारबाही हुने भएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकले पाउने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।

कतिपय रोजगारदाता तथा प्रतिष्ठानले श्रमिकलाई चाडपर्व खर्च नदिएको गुनासो आएपछि विभागले यस्तो निर्देशन दिएको हो। श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले मनाउने प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसारका चाडपर्वका लागि प्रत्येक वर्ष एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने व्यवस्था छ।

ADVERTISEMENT

तर, कानुनमा व्यवस्था भए पनि कतिपय रोजगारदाता तथा प्रतिष्ठानले यस्तो सुविधा उपलब्ध नगराएको गुनासो आएको विभागका प्रवक्ता मणिनाथ गोपले बताएका छन्।

ADVERTISEMENT

विभागले चाडपर्व खर्च नपाउने श्रमिकलाई आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन आग्रह गरेको छ। श्रमिकले इमेलमार्फत पनि उजुरी, गुनासो तथा सुझाव दिन सक्नेछन्। यसका लागि विभागले क्यूआर कोडको समेत व्यवस्था गरेको छ।

प्रवक्ता गोपका अनुसार श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानलाई भनिएको छ। कानुनअनुसार पाउनुपर्ने सुविधा उपलब्ध नगराउने रोजगारदातामाथि श्रम ऐनबमोजिम कारबाही गरिने उनले स्पष्ट पारेका छन्।

ADVERTISEMENT