काठमाडौं । पोखरामा स्कुल बस दुर्घटना हुँदा हालसम्म १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये १६ जना अस्पताल पुगिसकेका छन् भने दुई जनालाई अस्पताल लैजाँदै गरिएको कास्की प्रहरीले जनाएको छ।
कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार पोखरा महानगरपालिका–२८ माझठानाबाट विद्यार्थी लिएर कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको बस ओख्लेमा दुर्घटनामा परेको हो।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। अहिले प्रहरी र स्थानीयवासी मिलेर उद्धार कार्य गरिरहेका छन्। घाइतेहरूलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतका अस्पतालमा पठाइएको छ।
बसमा कति जना विद्यार्थी सवार थिए भन्ने यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ। उद्धार कार्य जारी रहेकाले विद्यार्थीको अवस्थाबारे पनि तत्काल स्पष्ट जानकारी दिन नसकिने सूचना अधिकारी पासवानले बताएका छन्।
दुर्घटनामा बस नराम्ररी क्षतिग्रस्त भएको छ। घाइतेहरूको अवस्थाबारे चिकित्सकले परीक्षणपछि जानकारी दिने प्रहरीले जनाएको छ।







