काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँका बेला यात्रा गर्ने महिलालाई चालकको छेउमा रहेको क्याबिन सिटमा बस्ने गरी टिकट बिक्री नगर्न यातायात व्यवसायीलाई आग्रह गरेको छ।
महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले दसैँमा यात्रुको चाप बढ्ने र टिकट अभाव हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो आग्रह गरेका हुन्।
चालक छेउको क्याबिन सिटमा महिलालाई राख्दा सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने तर्क गर्दै सिटौलाले त्यस्तो टिकट नदिन व्यवसायीलाई आग्रह गरेको बताइएको छ। तर, उनको भनाइप्रति महिला अधिकारकर्मीहरूले आलोचना गरेका छन्।
यसैबीच, दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ।
टिकट बुकिङ सुरु भएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा शुक्रबार बिहानैदेखि यात्रुको भीड लागेको छ। विशेषगरी लामो दूरीका सवारीसाधनको टिकट लिन यात्रुहरू बिहानैदेखि काउन्टरमा पुगेका छन्।
चाडपर्वमा घर जाने यात्रुको संख्या बढ्ने भएकाले अग्रिम टिकट बुकिङलाई सहज बनाउन यातायात व्यवसायीले टिकट बिक्री सुरु गरेका हुन्।







