काठमाडौं, असोज २१ । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बुधबार हावाहुरीसँगै मेघगर्जन, चट्याङ र वर्षा भइरहेको छ। मौसमविद्का अनुसार मनसुन बाहिरिने क्रमसँगै पश्चिमी वायुको प्रभावसमेत रहेकाले आगामी तीन दिनसम्म मौसम स्थिर नहुने देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौं उपत्यकामा बुधबार मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेशका केही स्थानमा भने भारी वर्षासमेत हुनसक्ने उहाँले बताउनुभयो।विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। पछिल्लो केही घण्टामा चितवन, पाल्पा र कैलाली आसपासका क्षेत्रमा भारी वर्षा भएको मौसमविद् लामिछानेले जानकारी दिनुभयो।
नवलपुर, तनहुँ, गोरखा, अर्घाखाँची र रूपन्देहीलगायत क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको उहाँले बताउनुभयो।काठमाडौंमा समेत हावाको गति बढेको छ। चितवन–हेटौँडा–मकवानपुर आसपास विकसित भएका बादल काठमाडौं उपत्यकातर्फ सर्दै आएकाले हावाहुरीसँगै वर्षाको सम्भावना बढेको मौसमविद् लामिछानेले बताउनुभयो।उहाँका अनुसार मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेका छन्। वर्षा भएपछि भने हावाको गति क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ।
शुक्रबारसम्म मौसमी गतिविधि
मौसमविद् लामिछानेका अनुसार बिहीबार आजको तुलनामा केही सुधार देखिए पनि पहाडी तथा तराईका विभिन्न स्थानमा वर्षाको सम्भावना कायमै रहनेछ। शुक्रबारसम्म विभिन्न स्थानमा बदलीसँगै मेघगर्जन, चट्याङ र वर्षाको गतिविधि दोहोरिन सक्ने उहाँको भनाइ छ।
वर्षा लामो समय निरन्तर भइरहनेभन्दा छोटो समयमा तीव्र हुने र केही समयपछि रोकिने प्रकृतिको हुने अनुमान गरिएको छ। शनिबारदेखि भने मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको छ।
मनसुन बाहिरिने क्रममा रहेको र पश्चिमी वायुको प्रभावसमेत देखिएकाले देशभर एकै प्रकारको मौसम नरहेको मौसमविद् लामिछानेले बताउनुभयो। त्यसैले एक स्थानमा घाम लागिरहेका बेला अर्को स्थानमा मेघगर्जनसहित वर्षा हुने अवस्था देखिएको उहाँको भनाइ छ।
दसैँअघि मौसम कस्तो रहला?
दसैँ नजिकिँदै गर्दा केही दिन मौसम अस्थिर हुने भए पनि लामो समयसम्म लगातार वर्षा हुने अवस्था तत्काल नदेखिएको मौसमविद् लामिछानेले बताउनुभयो।
तर छोटो समयमा हावाहुरी, चट्याङ, असिना र तीव्र वर्षा हुनसक्ने भएकाले यात्रा तथा बाहिरी काममा निस्कँदा तत्कालीन मौसम सूचना हेर्न उहाँले सुझाव दिनुभएको छ।







