कास्की । पोखरा महानगरपालिका–६ लेकसाईडस्थित फेवातालमा फसे सातजनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
अचानक आएको हावाहुरी तथा पानीको कारण चितवनबाट घुम्न आएका सातजना आन्तरिक पर्यटक चढेको प्याडल बोट पार्किङतर्फ आउनेक्रममा डोरीमा अल्झिएको थियो ।
खबर पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल फेवाताल वाच एण्ड रेस्क्यु टावरबाट खटिएको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो । यसैगरी सोही महानगरपालिका–३२ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।
सल्यान जिल्ला घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजार बस्दै आएका २५ बर्षिय नरेश बिक असोज १७ गते साँझ उक्त तालमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी तत्काल परिचालन भएको थियो ।
परिचालित टोलीले खोजीकार्य गर्दा तालको करीब २५ फिट गहिराईबाट वेपत्ता पुरुषको शव फेला पारी पोष्ट मार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाएको छ ।







