काठमाडौं । पोखरा महानगरपालिकाले फिर्के खोला अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचनाहरू हटाउन आइतबार बिहानदेखि डोजर परिचालन गरेको छ ।फेवातालको प्रमुख मुहानका रूपमा रहेको फिर्के खोलाको संरक्षण तथा सीमांकनसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले अतिक्रमित संरचनामाथि कारबाही थालेको हो ।

महानगरपालिकाले २०८० साल साउनमा फिर्के खोलाको वास्तविक मापदण्ड निर्धारण गर्न प्राविधिक नापजाँच गरेको थियो । उक्त अध्ययनका क्रममा करिब ८ किलोमिटर लामो खोलाको बहाव क्षेत्र तथा मापदण्डभित्र १६० भन्दा बढी अवैध संरचनाहरू निर्माण भएको फेला परेको थियो ।

ADVERTISEMENT

महानगरको प्रतिवेदनअनुसार अतिक्रमित संरचनामध्ये ९७ वटा व्यक्तिगत अस्थायी घर रहेका छन् भने अन्य स्थायी संरचनाहरू पनि रहेका छन् ।अवैध रूपमा निर्माण गरिएका संरचनाहरूमा केही विद्यालय, विभिन्न टोल तथा जातीय संगठनका समाज घर, लायन्स क्लब अफ फिस्टेल सिटीको भवन तथा वडा नम्बर १७ स्थित गाईघाटमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ) को तालिम केन्द्रको भवनसमेत समावेश छन् ।

महानगरपालिकाले गत वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै खोलाको मापदण्डभित्र रहेका संरचनाहरू स्वेच्छाले हटाउन आग्रह गरेको थियो । तर, सूचनाको पालना नभएपछि आइतबार बिहानैदेखि फिर्के खोलाका तीन फरक स्थानबाट डोजर चलाएर संरचना हटाउने कार्य सुरु गरिएको महानगरले जनाएको छ ।

महानगरपालिकाले फिर्के खोला संरक्षण अभियानलाई वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन तथा फेवाताल जोगाउने दीर्घकालीन योजनाको महत्वपूर्ण हिस्सा भएको जनाएको छ ।