काठमाडौं । काठमाडौं महानगरपालिका–१ त्रिपुरेश्वरमा भएको बस आगजनी घटनाबारे गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको संयोजकत्वमा गठित सात सदस्यीय समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेललाई शुक्रबार साँझ प्रतिवेदन बुझाएको हो ।

ADVERTISEMENT

असोज ५ गते ट्राफिक प्रहरीसँग सामान्य विवाद भएपछि बा ५ ख ४२७४ नम्बरको बसमा अर्जुन दोङ तामाङले आगजनी गरेका थिए । आगजनीबाट शरीरको करिब ९० प्रतिशत भाग जलेका मकवानपुर स्थायी घर भएका तामाङको उपचारका क्रममा मृत्यु भएको थियो ।

ADVERTISEMENT

समितिले असोज १३ गते प्रतिवेदन तयार पारेको थियो । १३ पृष्ठको प्रतिवेदनमा घटनाको वास्तविकता र तथ्य, घटनाको विश्लेषण, बस चालकको परिवार तथा ट्राफिक प्रहरीको भनाइ समेटिएको जनाइएको छ ।

प्रतिवेदनमा आगजनी भएको बसको बीमाका लागि नेपाल सरकारले आवश्यक समन्वय गर्ने विषयसमेत उल्लेख गरिएको छ ।

ADVERTISEMENT

काठमाडौंका सीडीओ पौडेलले बसको बीमा रकम तथा पीडितलाई क्षतिपूर्ति दिलाउन पहल हुने बताएका छन् । बस व्यवसायीहरूले समेत प्रतिवेदनमा उल्लेखित विषय तथा भएको सम्झौता चाँडो कार्यान्वयन गर्न माग गरेका छन् ।