काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुक्रबार औपचारिक रूपमा समापन भएको छ । गत वैशाख २८ गतेदेखि सुरु भएको अधिवेशन १४५ दिनसम्म सञ्चालन हुँदा ६२ दिनमा ६८ वटा बैठक बसेका छन् ।

अधिवेशन समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले यस अवधिमा संसद्ले १२ वटा विधेयक पारित गरेको जानकारी गराए । उनका अनुसार अधिवेशनमा कानुन निर्माणसँगै विपद् व्यवस्थापनलगायत जनसरोकारका विषयमा पनि संसद्ले भूमिका खेलेको छ ।

ADVERTISEMENT

संसद् सचिवालयका अनुसार अधिवेशनमा कुल २७७ घण्टा ३० मिनेट संसदीय समय व्यतीत भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकसमेत गरी अधिवेशनमा कानुन निर्माण र नीतिगत विषयमा छलफल भएको थियो ।

ADVERTISEMENT

विधायकी कामकारबाहीका हिसाबले अधिवेशनमा आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ र सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलगायत १२ वटा विधेयक पारित भएका छन् ।

पारितमध्ये ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् । २० वटा विधेयक भने विभिन्न संसदीय समितिमा विचाराधीन छन् भने केही विधेयक प्रक्रियामा रहेका छन् ।

ADVERTISEMENT

अधिवेशनका क्रममा नीति तथा कार्यक्रम पारित हुनुका साथै राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरी बजेट कार्यान्वयनको बाटो खोलिएको थियो । विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पनि सभामा पेस भएका थिए ।

यस्तै, सरकारका विभिन्न मन्त्रीहरूले सांसदहरूले उठाएका जनसरोकारका विषयमा प्रश्नोत्तरमार्फत जवाफ दिएका थिए । अधिवेशनको अर्को महत्त्वपूर्ण विषयका रूपमा बाढी–पहिरो प्रभावितको उद्धार तथा राहतका लागि सरकारलाई दिइएको निर्देशन रहेको संसद् सचिवालयले जनाएको छ ।

भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सभाले दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको थियो । जलवायु परिवर्तनको प्रभाव र विपद् व्यवस्थापनका विषयमा अध्ययन गर्न १५ सदस्यीय विशेष संसदीय समितिसमेत गठन गरिएको थियो ।