मिलवाउकी, असोज १४ । अमेरिकी भन्सार नीतिका कारण विश्व व्यापारमा तनाव बढिरहेका बेला जी–२० का व्यापारमन्त्रीको दुई दिने बैठक बुधबार अमेरिकाको मिलवाउकीमा सुरु भएको छ।

बैठकमा चीन, भारत, रुस, जापान, जर्मनी र फ्रान्ससहित विश्वका प्रमुख अर्थतन्त्रका प्रतिनिधि सहभागी छन्। अन्तर्राष्ट्रिय व्यापार, भन्सार शुल्क, औद्योगिक उत्पादन क्षमता तथा व्यापारिक सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले अमेरिकाको व्यापार नीति व्यापारविरोधी नभएको बताएका छन्। उनका अनुसार विभिन्न देशले अत्यधिक औद्योगिक उत्पादन क्षमता र बजारसँग सम्बन्धित समान चुनौती सामना गरिरहेका छन्।

ADVERTISEMENT

अमेरिकाले चीन, भारत र युरोपेली संघसहित विभिन्न व्यापारिक साझेदारमाथि भन्सार शुल्क लगाएको छ। केही देशमा जबर्जस्ती श्रम र अत्यधिक औद्योगिक उत्पादन क्षमतासम्बन्धी विषयमा अनुसन्धानसमेत भइरहेको छ।

चीनले भने आफ्नो निर्यातलाई लिएर उठाइएका चिन्ता अस्वीकार गर्दै गुणस्तरीय तथा प्रतिस्पर्धी मूल्यका वस्तुको निर्यातले विश्व बजारलाई लाभ पुगेको बताउँदै आएको छ।

ADVERTISEMENT

बैठकमा क्यानडा र युरोपेली संघले अमेरिकाबाहेक अन्य देशसँग व्यापार तथा लगानी सम्बन्ध विस्तार गर्ने विषयमा समेत छलफल गर्ने अपेक्षा गरिएको छ। क्यानडाले खुला, पूर्वानुमानयोग्य र नियममा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीप्रति आफ्नो समर्थन दोहोर्‍याएको छ।

भन्सार नीतिसम्बन्धी मतभेदका कारण बैठकमा महत्वपूर्ण विषयमा सहमति जुटाउन चुनौती हुन सक्ने विश्लेषकहरूको भनाइ छ। यस वर्ष जी–२० को अध्यक्षता अमेरिकाले गरिरहेको छ। जी–२० मा १९ देशका साथै युरोपेली संघ र अफ्रिकी संघ सहभागी छन्।