काठमाडौँ । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग तथा व्यवसाय विस्तारका लागि औद्योगिक क्षेत्रका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताएकी छन्।

रूपन्देहीको बुटवलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै भण्डारीले उद्योगी–व्यवसायीसँग सरसल्लाह गरेर क्षेत्रका समस्या पहिचान तथा समाधान गर्नुपर्नेमा जोड दिइन्।

ADVERTISEMENT

उनले लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा सडक पूर्वाधार निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको बताइन्। यी पूर्वाधार निर्माणसँगै विश्वप्रसिद्ध लुम्बिनी क्षेत्र थप चर्चित बनेको उनको भनाइ थियो।

ADVERTISEMENT

भण्डारीले आफूले पहिलोपटक पार्टी उपाध्यक्षको जिम्मेवारी पनि लुम्बिनीबाटै पाएको स्मरण गरिन्। पुनः वरिष्ठ नेताका रूपमा सोही क्षेत्रबाट सक्रिय हुन पाउँदा खुसी लागेको उनले बताइन्।

एमालेले आफूलाई वरिष्ठ नेतामा मनोनयन गरेकोमा प्रसन्नता व्यक्त गर्दै उनले औपचारिक रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रक्रिया भने अझै टुङ्गो नलागेको जानकारी दिइन्।

ADVERTISEMENT

हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनयन गरेको थियो। वरिष्ठ नेता मनोनित भएपछि उपत्यकाबाहिर उनको यो पहिलो भ्रमण हो।