काठमाडौं । गायिका रचना रिमालले स्नातक तहको अध्ययन पूरा गरेकी छन्।
उनले काठमाडौंस्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाट संगीत र राजनीतिशास्त्रमा स्नातक (बीए) उत्तीर्ण गरेकी हुन्।
रिमालले आफ्नो शैक्षिक सफलताको खुसी सामाजिक सञ्जालमार्फत साझा गरेकी छन्। उनले संगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदा पनि पढाइलाई बीचमै नछोड्ने अठोट पूरा गर्न सफल भएको बताएकी छन्।
उनका अनुसार उनले संगीत र राजनीतिशास्त्रमा स्नातक तहका चारै वर्ष सफलतापूर्वक उत्तीर्ण गरेकी हुन्। उनले यो उपलब्धिलाई शैक्षिक सफलतामात्र नभई सपना र जिम्मेवारीलाई सँगसँगै अघि बढाउन सकिन्छ भन्ने विश्वासको परिणामका रूपमा उल्लेख गरेकी छन्।
रिमालले आफ्नो अध्ययन यात्रामा सहयोग गर्ने रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षक, अध्ययनरत साथीहरू, परिवार तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेकी छन्।
संगीतकर्मसँगै आगामी दिनमा पनि पढाइलाई निरन्तरता दिँदै अघि बढ्ने आफ्नो योजना रहेको उनले बताएकी छन्।








