म्यान्मा । पश्चिमी म्यान्माको एक बजारमा सेनाले सोमबार गरेको हवाई आक्रमणमा ३३ जनाको मृत्यु र ३६ जना घाइते भएको उक्त क्षेत्रमा प्रभाव रहेको विद्रोही समूह अराकान आर्मीले जनाएको छ।
समूहले जारी गरेको विज्ञप्तिमा राखाइन राज्यको क्याउकट सहरको एक बजार र छेउको पुलमा सोमबार मध्याह्नतिर भएको आक्रमणमा कैयौँ घाइते भएका र कतिपय घाइतेको अवस्था चिन्ताजनक रहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने उल्लेख छ।
असुरक्षा कारण देखाउँदै नाम नखुलाउन अनुरोध गर्ने एक प्रत्यक्षदर्शीले सोमबार अपराह्न घटनास्थलमा ३० भन्दा बढी मृत शरीर आफूले देखेको बताएका छन्।
बाक्लो धुँवा उडिरहेको घटनास्थलको भग्नावशेष र खाल्डा परेका सडकहरूबिच मानव अवशेष देखिन्थे।
सन् २०२१ को सैन्य कुबाट सुरु भएको म्यान्माको गृहयुद्धमा पश्चिमी राज्य राखाइनमा सबैभन्दा भयानक अवस्थाहरू देखिएका छन्।








