काठमाडौँ । हिन्दू परम्पराअनुसार आज असोज ११ गते आइतबारदेखि यस वर्षको सोह्रश्राद्ध अर्थात् पितृपक्ष सुरु भएको छ।

आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष असोज २४ गते शनिबार सर्वपितृ औँसीका दिन सकिनेछ। यस अवधिमा दिवङ्गत पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ।

ADVERTISEMENT

पितृको मृत्यु भएको तिथिका आधारमा सोही तिथिमा श्राद्ध गर्ने धार्मिक परम्परा छ। सोह्रश्राद्धलाई महालय श्राद्ध तथा पितृपक्ष पनि भनिन्छ। यस अवधिमा आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा व्यक्त गर्दै श्राद्ध तथा तर्पण गर्ने गरिन्छ।

ADVERTISEMENT

कुन तिथिमा कसको श्राद्ध गर्ने ?

  • असोज ११ गते – प्रतिपदा श्राद्ध: प्रतिपदा तिथिमा दिवङ्गत भएका पितृको श्राद्ध।
  • असोज १२ गते – द्वितीया श्राद्ध: द्वितीयामा दिवङ्गत भएका पितृको श्राद्ध।
  • असोज १३ गते – तृतीया श्राद्ध: तृतीयामा दिवङ्गत भएका पितृको श्राद्ध।
  • असोज १४ गते – चतुर्थी श्राद्ध: चतुर्थीमा दिवङ्गत भएका पितृको श्राद्ध।
  • असोज १५ गते – पञ्चमी तथा षष्ठी श्राद्ध: दुवै तिथिका श्राद्ध यही दिन गरिनेछ।
  • असोज १६ गते – सप्तमी श्राद्ध।
  • असोज १७ गते – अष्टमी श्राद्ध।
  • असोज १८ गते – नवमी श्राद्ध (मातृनवमी): आमालगायत महिला पितृको श्राद्ध गर्ने विशेष दिन।
  • असोज १९ गते – दशमी श्राद्ध।
  • असोज २० गते – एकादशी श्राद्ध।
  • असोज २१ गते – द्वादशी श्राद्ध तथा मघा श्राद्ध।
  • असोज २२ गते – त्रयोदशी श्राद्ध।
  • असोज २३ गते – चतुर्दशी श्राद्ध: दुर्घटना, अस्त्र–शस्त्र, पानी, आगो, चट्याङलगायत असामान्य कारणबाट मृत्यु भएकाहरूको श्राद्ध गर्ने परम्परा।
  • असोज २४ गते – सर्वपितृ औँसी: मृत्यु भएको तिथि थाहा नभएका वा विभिन्न कारणले नियमित तिथिमा श्राद्ध गर्न नसकेका पितृको श्राद्ध गर्ने दिन। यसै दिन सोह्रश्राद्ध समापन हुन्छ।

धार्मिक मान्यताअनुसार सोह्रश्राद्धमा पितृहरूका लागि तर्पण, पिण्डदान, सिदादान तथा भोजन अर्पण गरिन्छ। पितृको तिथिअनुसार श्राद्ध गर्नु यसको मुख्य आधार मानिन्छ।

यस अवधिमा सात्त्विक भोजन गर्ने, मांसाहार तथा तामसी भोजन नगर्ने र श्राद्धका दिन शास्त्रीय विधि तथा परम्पराअनुसार आचरण गर्ने चलन छ। विभिन्न परिवार तथा सम्प्रदायमा श्राद्धका विधि र नियममा केही फरक हुन सक्ने भएकाले आफ्नो कुलपरम्परा र पुरोहितको निर्देशनअनुसार कर्म गर्नु उपयुक्त मानिन्छ।

ADVERTISEMENT

सोह्रश्राद्ध सकिएपछि नेपाली हिन्दू समाजमा बडादसैँलगायत प्रमुख चाडपर्वको क्रम सुरु हुन्छ। त्यसैले दसैँअघि पितृको स्मरण र श्राद्ध गर्ने परम्परालाई विशेष महत्त्व दिइन्छ।