काठमाडौं । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमिकोटमा ४८ वर्षकै उच्च वर्षा भएको छ।

मौसम तथा जलवायु विज्ञान कार्यालय, सुर्खेतका अनुसार असोज ९ गते बिहान ८:४५ बजेदेखि असोज १० गते बिहान ८:४५ बजेसम्म २४ घण्टाको अवधिमा सिमिकोटमा ११४.८ मिलिमिटर वर्षा मापन भएको हो।

ADVERTISEMENT

यो सन् १९७८ जुन १ देखि २०२६ सेप्टेम्बर २६ सम्मको २४ घण्टा अवधिको सबैभन्दा उच्च वर्षा हो। यसअघि सिमिकोटमा १९ अक्टोबर २०२१ मा २४ घण्टामा ११० मिलिमिटर वर्षा भएको थियो। त्यसलाई सिमिकोटको उच्च वर्षाको रेकर्ड मानिएको थियो।

ADVERTISEMENT

मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतकी प्रमुख डा. इन्दिरा कडेलका अनुसार यसपटकको वर्षाले सिमिकोटको २४ घण्टे वर्षाको पुरानो रेकर्ड तोडेको हो।

कार्यालयको अभिलेखअनुसार समुद्री सतहबाट २ हजार ९९३ मिटर उचाइमा रहेको सिमिकोटमा यसअघि पनि केही वर्षमा ९० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो। सन् २०१५ जनवरी ३ मा ९८ मिलिमिटर, सन् २००० जुन ९ मा ९२.८ मिलिमिटर र जुन ८ मा ९०.४ मिलिमिटर वर्षा भएको थियो।

ADVERTISEMENT

दीर्घकालीन अभिलेखअनुसार ४८ वर्षको अवधिमा सिमिकोटमा २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा दुई दिन, ७५ मिलिमिटरभन्दा बढी वर्षा सात दिन र ५० मिलिमिटरभन्दा बढी वर्षा १३ दिन भएको छ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले पछिल्ला तीन दिनदेखि उच्च हिमाली क्षेत्रमा हिमपात तथा पहाडी र तराई क्षेत्रमा वर्षा भइरहेको छ।