काठमाडौं । बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक २०८३ माथि सांसदहरूले २० समूहमा १६७ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यो विधेयक गत साउन १४ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । यसमाथि भदौ ३ गते सभामा छलफल भएको थियो ।
सैद्धान्तिक छलफलपछि सांसदहरूले संशोधन गर्ने समय पाएका थिए । ७२ घण्टाको उक्त समयभित्र सांसदहरूले २० समूहमा १६७ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।
संशोधन प्रस्ताव राख्ने सांसदहरूमा गंगादेवी श्रेष्ठ, भीमकुमारी बुढामगर, साजिदा खातुन सिद्धिकी, ऐनबहादुर महर, भरतकुमार स्वार, रुक्मिणीदेवी कोइराला, खड्ग शाही, रेखाकुमारी यादव, कालीबहादुर सहकारी, हरिनादेवी कामी, नीनुकुमारी कर्ण, कृपाराम राना, परशुराम तामाङ रहेका छन् ।
यसैगरी सांसदहरू अनुष्का श्रेष्ठ, क्रान्तिशिखा धिताल, गणेश कार्की, डा. प्रमिलाकुमारी गच्छदार, गुरुप्रसाद बराल, मनिष झा, कमल सुवेदी, ज्ञानु पौड्याल, भुमिका श्रेष्ठ, सुष्मा स्वर्णकार (डिम्पल), रन्जु न्यौपाने, सृष्टि भट्टराई, सुजाता तामाङ, प्रकाशचन्द्र परियार, लिमा अधिकारी (आचार्य) र रमेशकुमार मल्लले पनि संशोधन प्रस्ताव राखेका हुन् ।
१३ वर्ष उमेर पुगेका बालबालिकालाई हलुका काममा लगाउन पाइने
प्रस्तावित विधेयकमा १३ वर्ष उमेर पुगेकाले बालबालिकाले जागिर (हलुका काम) खान पाउने व्यवस्था छ । विधेयकको दफा ३ मा यस्तो व्यवस्था प्रस्तावित छ ।
‘कसैले पनि १५ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई बाल विकाससँग सम्बन्धित काममा बाहेक अन्य काममा लगाउनु हुँदैन,’ दफा ३ को उपदफा १ मा छ ।
सांसदहरूले विधेयकको प्रस्तवनादेखि नै संशोधन प्रस्ताव राखेका छन् । अब सांसदहरूले राखेका संशोधनहरू र विधेयक एकै ठाउँमा राखेर छलफल हुन्छ ।
यो प्रक्रिया प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा हुन्छ ।
दुवै सभाले पारित गरेपछि उत्तपति भएको सदनको नेतृत्वमार्फत विधेयक राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा कार्यान्वयन हुन्छ ।







