काठमाण्डौ — कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा रहेको किम्रुङ खोलामा आएको लेदोसहितको आकस्मिक बाढीका कारण मोदी खोलाको जलसतह एक्कासी बढ्दा नदी किनारका घर, रेष्टुरेन्ट तथा सडकमा ठूलो क्षति पुगेको छ ।
बाढीका कारण प्रसिद्ध पर्यटकीय गन्तव्य घान्द्रुक जाने नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने मोदी खोलामा सञ्चालित चारवटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरेका छन् ।
बाढीले अन्नपूर्ण गाउँपालिका–८ र १० को सिमाना सेउलीबजारको स्थानीय दिलीप गुरुङको घर र रेष्टुरेन्ट पूर्ण रूपमा बगाएको छ । किम्रुङ खोलामा आएको लेदोसहितको बाढी मोदी खोलामा मिसिएपछि नदीको बहाव अस्वाभाविक रूपमा बढ्दा सडक कटान हुनुका साथै खोलामाथिको झोलुङ्गे पुलसमेत बगाएको छ ।
पुल बगेसँगै अन्नपूर्ण पदमार्गमा हिँड्ने स्थानीय तथा स्वदेशी–विदेशी पर्यटकको आवतजावत प्रभावित भएको छ । बाढीका कारण नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक अवरुद्ध हुँदा घान्द्रुक, लान्द्रुकलगायत पर्यटकीय क्षेत्रमा जाने सयौँ गाडी रोकिएका छन् ।
निरन्तर वर्षा भइरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिन हुने प्रहरीको भनाइ छ । प्रहरीले स्थानीयबासिन्दालाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह गरेको छ ।





