काठमाडौं । एभरेष्ट बैंकले धनगढीमा आफ्नो नयाँ भवन सञ्चालनमा ल्याउँदै १३४औँ शाखा विस्तार गरेको छ।
बैंकले असोज ५ गते कैलालीको धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा नयाँ भवनसहित शाखा सञ्चालनमा ल्याएको हो। नयाँ भवनबाट बैंकको सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालयसमेत सञ्चालन हुने बैंकले जनाएको छ।
धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंकका सञ्चालक समिति अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा नयाँ भवन तथा शाखाको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिनालगायत उद्योगी, व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयवासीको सहभागिता थियो।
नयाँ शाखा सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकका शाखाको संख्या १५ पुगेको छ। आफ्नै भवनमा शाखा स्थापना भएपछि क्याम्पस चोक तथा आसपासको क्षेत्रको आर्थिक गतिविधि थप विस्तार हुने र स्थानीय आर्थिक विकासमा योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।






