काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पहिलोपटक सातै प्रदेशमा छुट्टाछुट्टै दीक्षान्त समारोह आयोजना गरी विद्यार्थी दीक्षित गर्ने भएको छ।त्रिवि कार्यकारी परिषद्ले प्रदेशगत रूपमा दीक्षान्त समारोह सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षा नियन्त्रण कार्यालयले प्रक्रिया अघि बढाएको हो। कार्यालयले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीबाट अनलाइन आवेदनसमेत माग गरेको छ।
अब विद्यार्थीले आवेदन दिँदा आफूलाई पायक पर्ने प्रदेशको दीक्षान्त केन्द्र छनोट गर्न सक्नेछन्। जुन प्रदेशको केन्द्र रोजिन्छ, त्यहीँ आयोजना हुने दीक्षान्त समारोहमा सहभागी हुन पाइने त्रिविले जनाएको छ। प्रदेशस्तरमै दीक्षान्त कार्यक्रम गर्ने निर्णय कार्यकारी परिषद्बाट भएको हो। सोही निर्णयअनुसार विद्यार्थीबाट आवेदन माग गरिएको हाे ।
त्रिविले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी सातै प्रदेशमा दीक्षान्त केन्द्र तोकेको छ।तर एमफिल, विद्यावारिधि (पीएचडी) तथा सर्वोत्कृष्ट अर्थात् गोल्ड मेडल प्राप्त गर्ने विद्यार्थीका लागि भने बागमती प्रदेशलाई केन्द्र तोकिएको छ।
यसअघि देशभरका विद्यार्थीले काठमाडौंमा हुने त्रिविको दीक्षान्त समारोहमा सहभागी हुनुपर्ने अवस्था थियो। प्रदेशगत रूपमा दीक्षान्त समारोह आयोजना भएपछि काठमाडौं आउनुपर्ने बाध्यता हट्ने भएको छ।
त्रिविबाट हरेक वर्ष स्नातकदेखि विद्यावारिधिसम्मका करिब ८० हजार विद्यार्थीले विभिन्न तह पूरा गर्ने गरेका छन्। तीमध्ये करिब २० हजार विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुँदै आएका छन्।






