काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र सार्वजनिक गर्ने दुईजना पक्राउ परेका छन्।
शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा उनीहरु आइतबार बिहान पक्राउ परेका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आरोपीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएको थियो। प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डिनको कार्यालयले पनि साइबर ब्यूरोलाई अनुसन्धान एवं कारबाहीका लागि पत्राचार गरेको थियो।
प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न परीक्षा नियन्त्रण महाशाखाले अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिलाई सात दिनको समय दिइएको छ । समितिको सदस्यमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा छन्।





