काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या कायमै रहेपछि नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ बराबरको निक्षेप उपकरण बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले ३० दिनका लागि उक्त रकम बैंकिङ प्रणालीबाट तान्न लागेको हो।
कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले मौद्रिक उपकरणमार्फत अतिरिक्त तरलता व्यवस्थापन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार बुधबार अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत ६० अर्ब रुपैयाँ बराबरको निक्षेप उपकरण खरिदका लागि बोलकबोल गर्न सकिनेछ। उपकरणको परिपक्व हुने अवधि ३० दिन तोकिएको छ।
उक्त निक्षेप उपकरणको साँवा तथा ब्याज भुक्तानी असोज ३० गते हुने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले उक्त निक्षेप उपकरण खरिद गर्न सक्नेछन्। खरिदकर्ताले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्म रकमको बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको निक्षेप उपकरणलाई राष्ट्र बैंकबाहेकका अन्य बैंक तथा वित्तीय संस्था वा वित्तीय कम्पनीमा धितोका रूपमा समेत राख्न सकिनेछ।
बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आएका छन् भने कर्जाको माग अपेक्षित रूपमा बढ्न सकेको छैन। यस्तो अवस्थामा प्रणालीमा रहेको अतिरिक्त रकम व्यवस्थापन गर्न राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ।
निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट रकम खिच्दा बजारमा रहेको अतिरिक्त तरलता केही समयका लागि राष्ट्र बैंकमा जानेछ। यसले बैंकिङ प्रणालीमा तरलताको मात्रा व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।







