काठमाडौं । भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट र धादिङका गरी ३२ हजार ९३६ जना प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म बाढीमा परी १ हजार ३८६ जनाको मृत्यु भएको छ। तीमध्ये १०४ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ। बाढीपछि ५ हजार १३० जना अझै सम्पर्कविहीन छन् भने उनीहरूको खोज तथा उद्धार जारी छ।

ADVERTISEMENT

प्राधिकरणको प्रारम्भिक क्षति तथा आवश्यकता आकलनअनुसार तीन जिल्लाका ८ हजार ३१७ परिवार प्रभावित भएका छन्। बाढीबाट ७ हजार ५७० निजी भवनमा क्षति पुगेको छ।

ADVERTISEMENT

सबैभन्दा बढी प्रभावित स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकाका ३ हजार ४५१, रसुवाको गोसाइँकुण्डका १ हजार १५६, धादिङको बेनीघाट रोराङका १ हजार १४९ र नुवाकोटको किस्याङका ७२१ परिवार छन्।

बाढीले १३ जलविद्युत् आयोजना, ६८ झोलुंगे पुल, ३७ मोटरेबल पुल, ६९ किलोमिटर सडक र ४४३ किलोमिटर खानेपानी पाइपलाइनमा क्षति पुर्‍याएको छ। यस्तै, ४ हजार ८०० व्यावसायिक प्रतिष्ठान, १७ बैंक शाखा, १ हजार ८०६ हेक्टर बाली र ६९७ हेक्टर सिञ्चित कृषि क्षेत्रमा क्षति पुगेको छ।

ADVERTISEMENT

४८ सार्वजनिक भवन, ३० सम्पदा स्थल, १९ विद्यालय र सात स्वास्थ्य संस्थामा समेत क्षति पुगेको छ। प्रभावित क्षेत्रमा ९७.२२ प्रतिशत जीविकोपार्जनमा असर परेको प्रारम्भिक आकलन छ।

प्राधिकरणका अनुसार बाढीबाट समग्रमा ४ खर्ब ८ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। तत्कालका लागि ८ अर्ब ७३ करोड र दीर्घकालीन पुनर्स्थापनाका लागि ७ खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।