धादिङ । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले बाढी र हिमपहिरोजस्ता महाविपत्तिका बेला राजनीतिक दोषारोपण र अनावश्यक टीकाटिप्पणीबाट माथि उठेर काम गर्न सबै पक्षलाई आग्रह गरेका छन्।

गल्छी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले विपद्को समयमा सबै नेपाली राजनीतिभन्दा माथि उठेर एकताबद्ध हुनुपर्ने बताएका हुन्।

ADVERTISEMENT

उनले अहिले हतारमा गरिने पुनर्स्थापना र पुनर्निर्माण पूर्ण रूपमा अस्थायी मात्र हुने भन्दै जोखिमयुक्त स्थानमा स्थायी संरचना निर्माण गर्न नहुने बताए। संघीय सरकारले स्पष्ट कानुन र विधि नबनाएसम्म जोखिमयुक्त क्षेत्रमा स्थायी संरचना निर्माण गर्न नहुने उनको भनाइ छ।

ADVERTISEMENT

सभामुख अर्यालले दशैँ र तिहारअघि नै पीडितलाई फास्ट ट्रयाकमा पुनर्स्थापना गर्ने सरकारको प्राथमिकता रहेको बताए।

राहत वितरणमा समेत विभेद हुन नदिन स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा एकद्वार प्रणाली लागू गर्न खोजिएको उनले जानकारी दिए। स्वदेशी तथा विदेशी दातृ निकाय र नागरिकबाट प्राप्त राहत सामग्री समयमै व्यवस्थित रूपमा वितरण गर्नुपर्नेमा उनले जोड दिए।

ADVERTISEMENT

विपद्मा परेका नागरिकलाई हतारमा फारम भर्न वा निश्चित समयभित्रै क्षतिको विवरण बुझाउन दबाब दिएर थप तनाव दिन नहुने उनको भनाइ छ। उद्धार तथा राहतका कामलाई प्रचारप्रसार वा सामाजिक सञ्जालमा लाइक पाउने माध्यम बनाउन नहुने भन्दै उनले यस्तो प्रवृत्तिबाट जोगिन आग्रह गरे।

भ्रामक सूचना रोक्न पालिका र वडाले रेडियो तथा सामाजिक सञ्जालमार्फत २४सै घण्टा आधिकारिक सूचना सम्प्रेषण गर्नुपर्ने उनले बताए।

जलवायु परिवर्तन र ग्लोबल वार्मिङमा नेपालको योगदान न्यून भए पनि विपद्को मार भने बढी खेप्नुपरेको उल्लेख गर्दै सभामुख अर्यालले आगामी दिनमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको वास्तविक अवस्था स्पष्ट रूपमा उठाउने बताए।

उनले उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज तथा स्वयंसेवकहरूको योगदानको प्रशंसा गरे।

सभामुख अर्यालले ५० वर्षपछिको अवस्थासमेत आकलन गरेर नदी किनारका बस्ती र पूर्वाधार निर्माणसम्बन्धी नीति बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।