काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिरै महिलाले शिशु जन्माएको घटनामा सरकारले छानबिन अघि बढाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले शुक्रबार प्रतिनिधिसभाको बैठकमा घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको जानकारी दिइन्। उनका अनुसार घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई तत्काल कामकाजबाट हटाएर उनीहरूमाथि छानबिन सुरु गरिएको छ।
घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको मन्त्री मेहताले बताइन्। मन्त्रालयका तर्फबाट स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डा. पवनजङ्ग रायमाझी पनि टोलीमा सहभागी छन्।
यस्तै, जिल्ला प्रशासन कार्यालय सप्तरीले समेत घटनाबारे छानबिन समिति गठन गरिसकेको छ। मन्त्रालयले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागेकोमा अस्पतालले जवाफसमेत बुझाइसकेको मन्त्रीले जानकारी दिइन्।
प्रसूति भएपछि आमा र नवजात शिशुलाई सालनालसहित पुनः प्रसूति वार्डमा ल्याइएको र आवश्यक स्वास्थ्य उपचार तथा स्याहारका लागि अस्पतालमै बस्न आग्रह गरिएको उनले बताइन्।
अस्पतालले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएको पनि मन्त्री मेहताले संसद्लाई जानकारी गराइन्।






