काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को लिग चरणको अन्तिम खेलमा काठमाडौं रेड्सले खप्तड फाल्कोन्सविरुद्व ३-२ सेटको जित निकालेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा पहिलो सेट १९-२५ ले गुमाएको काठमाडौंले दोस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पार्यो ।
तेस्रो सेटमा २०-२५ ले पछि परेको काठमाडौंले चौथो सेटमा २५-१९ ले विजयी हुँदै खेललाई लम्ब्याएको थियो । पाँचौँ तथा निर्णायक सेटमा काठमाडौं १५-१३ ले विजयी भयो ।
जितसँगै ५ खेलमा १० अंक जोडेको काठमाडौंले तेस्रो स्थानमा रहेर प्लेअफ खेल्ने भएको छ । प्रतियोगितामा जितविहीन रहेको खप्तडले मात्र एक अंक जोड्न सक्यो ।
यसअघि मधेस वारियर्स, सगरमाथा स्म्यासर्स र कर्णाली शिवराजलाई हराएको काठमाडौंले अन्नपूर्ण स्पाईकर किंग्ससँगको खेल भने गुमाएको थियो । खप्तड सबै टोलीसँग पराजित भएको थियो ।
अब काठमाडौंले प्लेअफमा शुक्रबार कर्णालीको सामना गर्नेछ । बिहीबारै सम्पन्न अन्य खेलमा अन्नपूर्णले सगरमाथा तथा कर्णालीले मधेसलाई ३-१ को सेटमा पराजित गरेका थिए ।






