काठमाडौं । मधेश वारियर्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा सोमबार पहिलो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा रविन नगरकोटी मार्की खेलाडी रहेको मधेशले धिरोजकाजी बस्नेत मार्की खेलाडी रहेको खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
मधेशले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्यो। मधेशका जिविन सेबास्टियन ‘म्यान अफ द म्याच’ घोषित भए।
यसअघि मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग ३–१, दोस्रो खेलमा काठमाडौं रेड्ससँग ३–२ र तेस्रो खेलमा अन्नपूर्ण स्पाइकर किङ्ससँग ३–१ ले पराजित भएको थियो। लगातार तीन हारपछि चौथो खेलमा मधेशले पहिलो जित हात पारेको हो।
खप्तड फाल्कन्सको भने प्रतियोगितामा लगातार तेस्रो हार हो। खप्तड यसअघि सगरमाथा स्म्यासर्स र कर्णाली शिवराजसँग पनि सोझो सेटमा पराजित भएको थियो।
प्रतियोगिताअन्तर्गत मंगलबार काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सबीच साँझ ७ बजे खेल हुनेछ।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टोली सहभागी छन्। सहभागी टोलीले सिंगल राउन्ड रोबिन लिग खेल्नेछन्। लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।
प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। नेपाली पुरुष भलिबलमा पहिलोपटक फ्रेन्चाइज लिगका रूपमा आयोजना गरिएको प्रतियोगिताको फाइनल भदौ २७ गते हुनेछ।







