काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले आफ्नो कार्यकालको पहिलो प्राथमिकता आम नागरिकलाई आवश्यक ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउने बताएका छन्।

बिहीबार पद तथा गोपनीयताको शपथ लि एलगत्तै मन्त्रालय पुगेका साहले पत्रकारसँग कुरा गर्दै जनताको आवश्यकता र समस्यालाई आफूले उच्च प्राथमिकतामा राख्ने बताए। ग्यास अभावबारे सोधिएको प्रश्नमा उनले भने, ‘जनतालाई जति आवश्यक छ, त्यो दिनैपर्छ। यस विषयमा छलफल गरेर आवश्यक कदम चाल्नेछौँ।’

ADVERTISEMENT

मन्त्री साहले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग विगतमा भएका कामकारबाही र बाँकी कार्ययोजनाबारे जानकारी लिने बताए। त्यसपछि आवश्यकताअनुसार योजना बनाएर अघि बढ्ने उनको भनाइ छ।

ADVERTISEMENT

मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा साहले फरक शैलीसमेत प्रस्तुत गरेका छन्। उनले मन्त्रालयको ढोकामै जुत्ता खोलेर कार्यकक्षमा प्रवेश गरेका थिए। त्यसपछि कार्यकक्षमा राखिएको नेपालको राष्ट्रिय झण्डालाई निहुरिएर ढोग्दै पदभार ग्रहण गरेका हुन्।

गौरीकुमारी यादवले राजीनामा दिएपछि सुनसरी–४ बाट निर्वाचित साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरिएको हो।

ADVERTISEMENT