काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पदबाट राजीनामा दिएसँगै गौरी कुमारी यादव मन्त्रालयबाट बाहिरिएकी छन्। उनले बिहीबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी थिइन्।
राजीनामा दिनुअघि यादवले कर्मचारीबाट समेत असहयोग भएको भन्दै आफूले अपेक्षाअनुसार काम गर्न नसकेको बताएकी थिइन्। उनले मन्त्रालयका कर्मचारीहरू उद्योगी व्यवसायीको प्रभावमा चल्ने गरेको आरोपसमेत लगाएकी थिइन्।
यादवले बिहीबार नै ग्यास उद्योगीहरूलाई कडाइ गर्नुपर्ने आशयको अभिव्यक्ति दिएपछि विवादमा तानिएकी थिइन्। उनको उक्त अभिव्यक्तिप्रति उद्योगी व्यवसायीले आपत्ति जनाएका थिए।
यादवले चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको शपथ लिएकी थिइन्। उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्।





