भक्तपुर । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्।
१३३औँ बीपी जयन्तीका अवसरमा भक्तपुरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले कांग्रेसको नाम, रुख चिह्न र चारतारे झन्डा आफ्नो समूहले नै पाउने दाबी गरे।
देउवाले पार्टीभित्र माग गरिएको विशेष महाधिवेशनको प्रक्रिया नै त्रुटिपूर्ण रहेको आरोप लगाए। पार्टी विधानमा विशेष महाधिवेशनको व्यवस्था भए पनि त्यसका लागि आवश्यक प्रतिनिधिको सनाखतलगायत प्रक्रिया पूरा नगरिएको उनको भनाइ छ।
उनले विशेष महाधिवेशनविरुद्ध आफूहरूले निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको स्मरण गरे। सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएको विषयलाई उनले आफूहरूको ‘आधा विजय’ भएको बताए।
देउवाले विगतमा पनि सर्वोच्च अदालतले आफूलाई विभिन्न राजनीतिक परिस्थितिमा न्याय दिएको दाबी गरे। पञ्चायतकालदेखि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालसम्म अदालतले आफूलाई न्याय दिएको उनको भनाइ थियो।
विपक्षी समूहले अदालतमा विभिन्न प्रयास गरे पनि अन्ततः सत्यको जित हुने विश्वास व्यक्त गर्दै देउवाले सर्वोच्चले निष्पक्ष रूपमा पुनरावलोकनको निस्सा दिएझैँ अन्तिम फैसलामा पनि कांग्रेसको रुख चिह्न र चारतारे झन्डा आफ्नो समूहले नै पाउने दाबी गरे।











