काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रम मौसमको अनुकूलता हेरेर सञ्चालन गर्न निर्देशन दिइएको छ।

कांग्रेसका सदस्य–सचिव राजु कटुवालले जारी गरेको प्रेस विज्ञप्तिमा स्थानीय मौसमको अवस्था मूल्यांकन गरी अधिवेशनको निर्वाचन कार्यक्रम व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको उल्लेख छ।

ADVERTISEMENT

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन हुँदैछ। महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ तथा नगर अधिवेशनहरू जारी छन्। हालसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको कांग्रेसले जनाएको छ।

ADVERTISEMENT

देशका विभिन्न क्षेत्रमा भइरहेको भारी वर्षाका कारण अधिवेशन प्रक्रियामा कठिनाइ उत्पन्न भएको निर्वाचन अधिकृतहरूबाट जानकारी प्राप्त भएपछि कांग्रेसले क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रमलाई मौसमअनुकूल बनाउन निर्देशन दिएको हो।

असोज १० गतेका लागि तय गरिएको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको निर्वाचन मौसम अनुकूल रहेका क्षेत्रमा तोकिएकै मितिमा सञ्चालन गर्न भनिएको छ।

ADVERTISEMENT

प्रतिकूल मौसम भएका क्षेत्रमा भने सम्बन्धित जिल्ला तथा क्षेत्रका पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र निर्वाचन सम्पन्न हुने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

मौसम विभागलगायत विभिन्न निकायले आगामी केही दिन वर्षा कायम रहने भन्दै सतर्कता अपनाउन सूचना जारी गरेको अवस्थालाई समेत मध्यनजर गर्दै कांग्रेसले यस्तो निर्णय गरेको जनाएको छ।