काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कुलेश्वर शाखामार्फत कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ।
बैंकका काठमाडौँ क्षेत्र प्रमुख केदार नाथ शर्माले विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्। विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले बैंकले स्टेसनरी तथा अन्य शैक्षिक सामग्रीसँगै स्कुल ब्याग, स्कुल ड्रेस, हाउस ड्रेस, जुत्ता लगायत आवश्यक सामग्री वितरण गरेको जनाएको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त बिष्टले बैंकले विद्यालयका विपन्न तथा आर्थिक रूपमा कमजोर विद्यार्थीको शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे। यस्तो सहयोगले विद्यार्थीलाई अध्ययनमा थप हौसला प्रदान गर्नुका साथै विद्यालयको शैक्षिक वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने उनले बताए।
बैंकका काठमाडौँ क्षेत्र प्रमुख शर्माले शिक्षाको क्षेत्रमा सहयोग गर्दै आउनु बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण पहल भएको बताए। आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्रीबाट वञ्चित विद्यार्थीलाई गरिएको सहयोगले उनीहरूको पठनपाठनमा महत्वपूर्ण योगदान पुग्ने बैंकको विश्वास छ।
कामना सेवा विकास बैंकले आगामी दिनमा पनि आवश्यकता र प्राथमिकताका आधारमा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।






