काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले मर्चेन्ट बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले आकाश क्यापिटल लिमिटेडको संस्थापक सेयर खरिद गरी उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रूपमा सञ्चालन गर्ने भएको छ।
बैंकका अनुसार, उक्त कम्पनीलाई सहायक कम्पनीको रूपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको छ। यसअघि बैंक र आकाश क्यापिटल लिमिटेडबीच संस्थापक सेयर खरिद–बिक्रीसम्बन्धी सम्झौतामा हस्ताक्षर भइसकेको थियो।
नेपाल राष्ट्र बैंकबाट लगानी स्वीकृति प्राप्त भएसँगै अब प्रचलित धितोपत्रसम्बन्धी कानुन तथा नियामकीय व्यवस्था अनुरूप नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट आवश्यक अनुमति तथा दर्ता प्रक्रिया पूरा गरी मर्चेन्ट बैंकिङ सेवा सञ्चालनमा ल्याइने बैंकले जनाएको छ।
हाल आकाश क्यापिटल लिमिटेडको नाममा रहेको कम्पनी अब कामना सेवा विकास बैंकको सहायक कम्पनीका रूपमा ‘कामना सेवा क्यापिटल लिमिटेड’ नामबाट सञ्चालन हुने बताइएको छ।
यस कदमबाट बैंकको सेवा दायरा विस्तार हुनुका साथै नेपालको पूँजी बजारको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।






