काष्ठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक बसेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार मन्त्रिपरिषद् बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदन परियार, स्वास्थ्यमन्त्री सुधा गौतम, खेलकुदमन्त्री बब्लु गुप्ता, सञ्चारमन्त्री जगदिश खरेल र मुख्यसचिव सुमनराज अर्यालको सहभागिता छ ।
जेनजीसँग गरिएका १० बुँदे सम्झौता मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्ने एक मन्त्रीले जानकारी गराए । बुधबार राति प्रधानमन्त्री कार्की र जेनजीबीच १० बुँदे सम्झौता भएको थियो । सम्झौतालाई नेपाल सरकारले स्वामित्व ग्रहण गर्न अनुमोदन गर्न लागिएको हो ।
सम्झौतामा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई ‘जनआन्दोलन’ को संज्ञा दिइएको छ । साथै, अध्यादेशमार्फत संविधान संशोधन गर्ने, जेनजीका माग पूरा गर्न विभिन्न आयोग गठन गर्नेलगायतका सहमति भएको छ । जेनजी र सरकारबीच भएको सम्झौतालाई लिएर दलहरूले आपत्ति प्रकट गरेका छन् । जुन सम्झौता लागू नहुने एमाले अध्यक्ष केपी ओलीले चेतावनी दिएका छन् ।








