रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार जना कर्मचारीको सकुशल उद्धार गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। उद्धार हुनेमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन्। प्रतिकूल मौसमका बीच उद्धार टोलीले केन्द्रभित्र फसेका उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको मन्त्रालयले जनाएको छ।
तर, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा फसेका व्यक्तिहरूको भने अझै उद्धार हुन सकेको छैन। प्रतिकूल मौसमका कारण उद्धार कार्यमा केही ढिलाइ भए पनि प्रभावित क्षेत्रमा उद्धार अभियानलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको छ।
यसैबीच, बाढीका कारण प्रभावित अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका व्यक्तिको उद्धारका लागि आवश्यक सामग्रीसहित ‘डेडिकेटेड हेलिकप्टर’ परिचालन गरिएको छ।
टनेलभित्र रहेका व्यक्तिको उद्धारलाई प्रभावकारी बनाउन आवश्यक उद्धार सामग्रीसहितको टोली आयोजनातर्फ पठाइएको मन्त्रालयले जनाएको छ।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा र आसपासका जलविद्युत् आयोजनाहरूमा समेत ठूलो जोखिम उत्पन्न भएको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।






