एनआईसी एशिया बैंकका भोटेकोशी बाढी प्रभावित क्षेत्रका तीनवटा शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। बैंकले भाद्र १२ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार, भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण शाखा कार्यालयमा ठूलो भौतिक क्षति पुगेको हो।
बाढीका कारण रसुवा जिल्लास्थित स्याफ्रुबेँसी शाखा र नुवाकोट जिल्लास्थित बेत्रावती शाखा कार्यालय रहेको भवन बाढीले बगाएको बैंकले जनाएको छ। त्यस्तै, त्रिशूली शाखा कार्यालय पनि पूर्णरूपमा क्षतिग्रस्त भई माटोले पुरिएको अवस्थामा रहेको छ।
तीनवटै शाखा कार्यालयमा ठूलो क्षति पुगेकाले अर्को व्यवस्था नभएसम्मका लागि शाखा बन्द रहने बैंकले जानकारी दिएको छ।
प्रभावित क्षेत्रमा कार्यरत बैंकका सबै कर्मचारी भने सुरक्षित स्थानमा रहेको विज्ञप्तिमा उल्लेख छ। आवश्यक परे कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्न बैंक तयारी अवस्थामा रहेको जनाएको छ।
अकल्पनीय बाढीका कारण भएको भौतिक तथा मानवीय क्षतिप्रति बैंकले दुःख व्यक्त गरेको छ। बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना बैंकले गरेको छ।
त्यस्तै, हालसम्म सम्पर्कमा नआएका नागरिकको शीघ्र तथा सकुशल उद्धार र बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत बैंकले गरेको छ।






