काठमाडौं । नेपाली कांग्रेसले विपद्को समयमा सरकारले गरिरहेको उद्धार, राहत तथा व्यवस्थापनका प्रयासमा पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

बुधबार बसेको कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले नागरिकको जीवन संकटमा परेको अवस्थामा सरकार, राजनीतिक दल, संघ–संस्था, निजी क्षेत्र र नागरिक समुदायको साझा कर्तव्य उद्धार तथा राहतमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको हो।

कांग्रेसले विपद्का बेला अन्य विषयलाई थाती राखेर सम्पूर्ण ध्यान विपद् व्यवस्थापनमा केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ। साथै पार्टीका सदस्यहरूलाई भ्रामक सूचना, मिथ्या र अफवाहको पछि नलाग्न तथा आरोप–प्रत्यारोप नगरी उद्धार, राहत र व्यवस्थापनमा खटिन निर्देशन दिएको छ।

ADVERTISEMENT

बैठकले केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा प्रभावित क्षेत्रका सदस्यहरू अन्य कार्यक्रममा सहभागी नहुने र बाढीबाट उत्पन्न संकटमा उद्धार, राहत तथा पुनर्स्थापनामा केन्द्रित रहने निर्णयसमेत गरेको छ।

ADVERTISEMENT

बाढी प्रभावित जिल्लाका लागि समिति गठन

कांग्रेसले रसुवा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति गठन गरेको छ। केन्द्रीय सदस्य तथा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यको संयोजकत्वमा गठन गरिएको समितिमा रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरका कांग्रेस नेताहरू सहभागी छन्।

ADVERTISEMENT

समितिअन्तर्गत केन्द्रीय कार्यालयमा सूचना तथा समन्वय डेस्क स्थापना गरिने र कांग्रेसका तर्फबाट हुने सबै सहयोग समितिको समन्वयमा सञ्चालन हुने महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन्।

यसैबीच, कांग्रेसले ११ भदौका लागि तय गरिएको महिला उद्यमशीलता सम्मेलन, ग्रीन टेबललगायत पूर्वनिर्धारित कार्यक्रम तथा पार्टी केन्द्रीय कार्यालयमा हुने विचार श्रृङ्खलाका छलफलहरू एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ।