काठमाडौं । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्।

ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी हुन्। ललितपुरका एसएसपी तुलबहादुर कार्कीले जाहेरी परेको पुष्टि गर्दै प्रहरीले त्यसबारे अध्ययन गरिरहेको जानकारी दिए।

ADVERTISEMENT

उपसभामुख ठाकुरविरुद्ध जनआस्थामा केही दिनअघि प्रकाशित सामग्रीले आफ्नो चरित्र, प्रतिष्ठा र सामाजिक मर्यादामा आँच पुर्‍याएको भन्दै उनले श्रेष्ठविरुद्ध कानुनी कारबाहीको माग गरेकी छन्। जाहेरीमा ठाकुरले श्रेष्ठविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गरी कारबाही गर्न माग गरेकी छन्।

ADVERTISEMENT

यसअघि जनआस्थामा प्रकाशित सामग्रीकै अर्को प्रकरणमा पक्राउ परेका श्रेष्ठलाई सर्वोच्च अदालतले सोमबार रिहा गर्न आदेश दिएको थियो। साउन २५ गते जनआस्था डटकममा सप्तरी–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएको थियो।

उक्त सामग्रीमा सांसद चौधरीसँग एक युवतीको तस्बिर सार्वजनिक गरिएको विषयमा दिपिका सिंहले श्रेष्ठविरुद्ध जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरी वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो।

ADVERTISEMENT

तर बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको हो। सर्वोच्चको आदेशपछि रिहा भएका श्रेष्ठविरुद्ध उपसभामुख ठाकुरले फेरि अर्को जाहेरी दिएकी हुन्।